काठमाडौँ- देशभर गर्मी बढ्दै गएको छ। तराई मधेशका जिल्लाहरुमा तातो हावा चल्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ। भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अघिल्लो दिन भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो।
तराईँका नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ। बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ।
यस्तै, शनिबार धनगढीमा ४०.६ र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ। देशभर नै तापक्रम बढ्दै गएको र तत्काल कम हुने सम्भावना नरहेको महाशाखाको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको प्रक्षेपण गरेको छ।
मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ।


