काठमाडौँ- राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलले नेपालमा ठेक्का लगाएर लिएको कमिसन सिंगापुरस्थित बैंकको खातामा बुझ्ने गरेको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति जारी गर्दै सिंगापुरको बैंकमार्फत कमिसन लिने गरेको बताएको हो। आयोगले पौडेल विरुद्ध २३ करोड ७५ लाख बढी रुपैयाँ बराबरको भ्रष्टाचार गरी अकुत सम्पत्ति जोडेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विगत २० वर्षदेखि सरकारी पदमा रहेका उनी २०६१ जेठ २० मा राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भएको आयोगको विज्ञप्तिमा उल्लेख छ। २०६२ माघ २८ सम्म त्यही पदमा कार्यरत रहे।
यही केन्द्रमा २०६५ असार १२ मा उनी कम्प्युटर इन्जिनियर पदमा फेरि करारमा प्रवेश गरे। त्यसपछिका १० वर्ष उनले यही निकायमा विभिन्न पदमा रहेर काम गरे। २०७५ असार २१ मा केन्द्रको कार्यकारी निर्देशक नै बन्न पुगे। यो राजनीतिक नियुक्तिबाट प्राप्त हुने पद थियो। २०७८ चैत २४ सम्म यही पदमा रहे।
२०७८ चैत २५ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पद पाए। यो पद पनि उनले राजनीतिक नेतृत्वलाई रिझाएरै प्राप्त गरेका थिए। यही पदमा छँदाछँदै उनीमाथि अख्तियारले गत असोज १५ गते भ्रष्टाचार मुद्दा दायर गरिदियो र उनी निलम्बित भए।
उनले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएको अवधिमा आफैँले बोलपत्रहरूको कोटेसन बनाई योजनाबद्ध ढङ्गले आफैले चाहेको आपूर्तिकर्ता डब्लूडीएन, ओबीसीआई, म्याक्स, नेक्स्ट जेन सोलुसन लगायत कम्पनीहरूसँग ठेक्का सम्झौता गरेको बिज्ञप्तिमा उल्लेख छ।
स्वदेशी आपूर्तिकर्ताहरूले सोही अवधिमा विदेशी आपूर्तिकर्ता इन्स्टासेफ इंक र बोनकोटेक पीटीई लिमिटेडजस्ता कम्पनीहरूसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामानहरू आपूर्ति गर्ने र सो साझेदारीवापत विदेशी कम्पनीहरूले कमिसनवापत उनको सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैंकको खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।





