काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनमा आफूहरूलाई सहज नलागेको बताएका छन्।
नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा नेपालले यस्तो बताएका हुन्।
‘नेपालको राजनीति जटिल छ। छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ। कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ। त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ,’ अध्यक्ष नेपालले भने, ‘मैले दिन सक्दिन। तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ।’
कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको पनि उनले चेतावनी दिए। ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ। कसैको दास बन्ने हाम्रो नियत होइनौँ,’ उनले भने।


