काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः वाम एकता गर्न प्रयास गर्नुपर्ने बताएका छन्। सोमबार नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कम्युनिस्टहरूलाई एकताबद्ध गर्नु नै देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको तर बचाउन नसकेको बताए। वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने प्रचण्डको भनाइ थियो।
‘सायद नरबहादुर कर्मचार्य जस्ता पुराना पिढीका निष्ठावान नेताकै कारण हामीले पनि कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता छ भन्ने चेतना प्राप्त भयो। त्यही चेतनाको बलमा हामीले प्रयोग पनि गरेकै हो,’ उनले भने, ‘०७४ को चुनावमा जे प्रयोग हामीले गर्यौँ। त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो। विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ। तर, एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन। हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ।’
नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा नेपालले यस्तो बताएका हुन्।


