इलाम- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन्। उनले सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगिमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्रश्न गरे।
मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउँनोस्, इलाम-२ को विकासको जिम्मा म लिन्छु।’
नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए। कांग्रेस सधै पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उनले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गरे। उनले पहिचान चाहानेहरूले कांग्रेस उमेदवार खड्कालाई मत दिनुपर्ने उल्लेख गरे।
‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु विराटनगर जानुभएको थियो, मैले उहाँहरुलाई पहिचानको मुद्दामा म संवेदनशील रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ ,’ उनले भने, ‘अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ।’
सम्बोधनको क्रममा उनले अन्य दलहरु आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन भन्ने कुरा लिएर हिंडेका उल्लेख गरे।
नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकहरुका लागि समान ज्याला र उनिहरुको हकहितका पक्षमा काम गर्ने प्रतिवद्धता जनाए।
चुलाचुलीमा कांग्रेसकै पहलमा छिटोभन्दा भन्दा छिटो मालपोत कार्यालय र नापी कार्यालय चुलाचुली आउने भन्दै उनले चुलाचुली वार्ड नं-६ को “साक्फारा सडक” र सदरमुकाम जोड्ने “चुलाचुली-महमाई सडक” निर्माण कार्य कांग्रेसकै पहलमा निर्वाचन लगत्तै सुरु हुने प्रतिवद्धता गरे।


