काठमाडौँ- भारतसँग जोडिएका नेपालको पूर्वी नाका बन्द गरिएको छ। दार्जिलिङ जिल्लामा वैशाख १४ गते हुने लोकसभा चुनावलाई लक्षित गर्दै भारतको दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका बन्द गरिएको छ।
नेपालले बैशाख १५ गते इलाम २ मा हुने निर्वाचनका लागि भोलि रातिदेखि सीमा बन्द गर्ने भएको छ। सरकारले बुधबार राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्र सिल गर्ने भएको छ।
मंगलबार साँझ ६ः १५ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि भारतीय पक्षले बोर्डर सिल गरेको हो। इलामको सन्दकपुर, कालपोखरी, टंलु, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ, पशुपतिनगर, छब्बिस र समालबुङका नाकाहरु सिल भएको छ।
भारतको पश्चिम बंगाल राज्यमा ७ देखि १९ वैशाखसम्म लोकसभाको निर्वाचन ७ चरणमा भइरहेको छ।
विगतको अभ्यास झैं सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचन सुरक्षा योजना अन्तर्गत सीमा नाका सिल गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।


