काठमाडौँ- नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज द्विपक्षीय वार्ता हुने भएको छ। कतारका राजा तमिम बिन हमाद अल थानी २ दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका छन्।
वार्तापछि द्विपक्षीय सम्भौता र समझ्दारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन्। उनी आजै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको २ दिने राजकीय भ्रमणमा मङगलबार अपराह्न नेपाल आइपुगेका हुन्। राष्ट्रपति पौडेलले हिजो अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए। राष्ट्रपति पौडेलसँग उनले हिजै भेटवार्ता गरेका थिए।
सो भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो। राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा हिजो साँझ राजकीय भोजको आयोजना पनि गरेका थिए।


