काठमाडौँ- मित्रराष्ट्र कतारका राजा शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर राजा थानीलाई बिदाइ गरेका थिए।
बिदाइका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायत पुगेका थिए।
कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारी राजा मङ्गलबार काठमाडौँ अवतरण गरेका थिए।
कतारका राजाले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका थिए।
भेटवार्तापछि राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही दिन साँझ राजकीय भोजको आयोजना गरे।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो।
उक्त वार्ताका क्रममा दुईदेशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो।
नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदूतावास स्थापना गरेको थियो।
कतारका राजाको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन नेपाली र कतारी पक्षको वार्तापछि १ सम्झौता र ७ समझदारी भएका छन्।
समझदारी तथा सम्झौता कार्यक्रम होटल सोल्टीमा भएको थियो। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा तमिम बिन हमाद अल थानीको उपस्थितिमा ती समझदारी आदानप्रदान भएको नेपाली प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।
प्रतिनिधिमण्डलबीच भएको वार्तापछि दुईदेशका मन्त्रीहरूले ६ वटा (एक सम्झौतासहित) समझदारीमा हस्ताक्षर गरेका थिए। निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन्।
६ वटामध्ये राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा मात्र सम्झौता भएको सापकोटाले जानकारी दिए।
बाँकी ५ वटा भने सरकारी स्तरमा भएका समझदारीहरू हुन्। कला संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबीच सहकार्यका लागि समझदारी भएका हुन्।
दुईटा समझदारी भने नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएका छन्।
समझदारीका क्षेत्रहरू
१. नेपालको संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच संस्कृति र कला क्षेत्रमा सहयोगका लागि समझदारी
२. राष्ट्रिय समाचार एजेन्सी, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्युएनए)बीच सहयोग र समाचार विनिमयका लागि सम्झौता
३. नेपाल सरकार र कतार सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगका लागि समझदारी
४. नेपाल सरकार र कतार सरकार बीच युवा र खेलकूद क्षेत्रमा सहयोगका लागि समझदारी
५. नेपालको अटर्नी जनरल कार्यालय र कतारको जनसर्वस्व अभियोग बीच सहयोगका लागि समझदारी
६. नेपाल सरकार परराष्ट्र मन्त्रालयअन्तर्गत परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र कतारको विदेशमन्त्रालय अन्तर्गतको डिप्लोम्याटिक इन्स्टिच्युटबीच प्रशिक्षण र शिक्षासम्बन्धी सहयोगका लागि समझदारी
७. कतार च्याम्बर र नेपाली उद्योग वाणिज्य महासंघबीच ज्वाइन्ट बिजनेस काउन्सिल स्थापनासम्बन्धी सम्झौता
८. कतार च्याम्बर र नेपाली उद्योग वाणिज्य महासंघबीच समझदारी नवीकरण
बिदाइका तस्बिर





