काठमाडौँ- शिक्षक आन्दोलनका कारण काठमाडौँ र ललितपुरमा रोकिएको एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ।
उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकले ललितपुरमा सोमबारदेखि र काठमाडौँमा मंगलबारदेखि एसईईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए।
उनीहरूले पुस्तिकापरीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरेको आश्वासन दिएपछि शिक्षक काममा फर्किएका हुन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ‘पारिश्रमिक बढाउने प्रक्रिया अघि बढिसकेको छ। उहाँहरूको माग जायज छ। हामीले पहिले नै प्रक्रिया सुरु गरेका हौँ’, उनले भने।


