काठमाडौं- इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनमा ६९ मतदान केन्द्र अतिसंवेदनशील रहेको नेपाल प्रहरीले ठहर गरेको छ।
मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए।
ढकालका अनुसार, इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन्। अतिसंवेदनशीलता अनुसार ती केन्द्रमा १ हजार ३६३ जनशक्ति परिचालन गरिनेछ।
बझाङमा ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन्।
उपनिर्वाचनमा सुरक्षा व्यवस्था चुस्त पार्न नेपाली सेना पनि परिचालन गरिने भएको छ।
वैशाख १० गतेको मन्त्रिपरिषद् निर्णयका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका हुन्।
निर्वाचनमा नेपाली सेनालाई बाहिरी घेरामा परिचालन गर्ने गरिएको छ।


