काठमाडौँ- वाईवाई चाउचाउ गुणस्तरमा फेल भएको छ। चौधरी ग्रुपले उत्पादन गरेको वाईवाई परीक्षण गरेपछि गुणस्तरमा फेल भएको हो।
काठमाडौँ महानगरपालिकाको बजार अनुमगन समितिले गरेको अनुगमन पछिको परीक्षणबाट वाईवाईमा गुणस्तर नभएको पुष्टि भएको महानगरले जनाएको छ।
महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाका अनुसार चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिइएको छ।
‘बजारभरी रहेको उक्त लटका सबै चाउचाउ फिर्ता ल्याउन हामीले निर्देशन समेत दिइसकेका छौं। उक्त लटको चाउचाउमा एसिड भ्यालु अस्वाभाविक देखिएकाले यस्तो निर्देशन दिएका हौं,’ डा. झाले भने।
चाउचाउ पकाउन प्रयोग गरिने तेल बारम्बार प्रयोग भएर गुणस्तरहीन देखिएको उनले बताए। चाउचाउमा पनि अस्वाभाविक ढुसी देखिएपछि एक उपभोक्ताले महानगरमा उजुरी गरेका थिए।
उक्त उजुरीपछि महानगरको अनुगमन टोलीले उक्त लटका केही चाउचाउका प्याकेट बजारबाट ल्याएर जेस्ट ल्याब्रोटरीमा परीक्षणको लागि पठाएको थियो।
‘परीक्षणमा चाउचाउमा हुनुपर्ने एसिड भ्यालु नभएको देखिएको थियो। सोही आधारमा हामीले कारबाही सुरु गरेका हौं। अन्य लटको चाउचाउमा पनि अब अनुगमन हुन्छ,’ झाले भने।


