भोजपुर- सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले हात पारेको छ। आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–५ गोलअन्तरले हराउँदै चर्च ब्जाइजले उपाधि जितेको हो।
निर्धारित समयमा एक–एक गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो। पेनाल्टी सुटआइटमा चर्च ब्वाइजले दुई–चार गोल गर्दै जित हासिल गरेको हो।
विजेता चर्च ब्वाइजले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता त्रिभुवन आर्मीले नगद रु तीन लाखसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीनकुमार सुवालले जानकारी दिए।
भोजपुर रङ्गशालामा सम्पन्न भएकोे प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टिमको सहभागिता थियो। भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा वैशाख ९ गतेबाट प्रतियोगिता सुरु भएको थियो।


