काठमाडौँ- कलिङ र म्यासेजिङ एप्लिकेसन राकुटेन भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा ‘स्वास्थ्य सूचना’ अभियान सुरु गरेको छ।
साझेदारीअन्तर्गत मन्त्रालयले सार्वजनिक गरेका स्वास्थ्यसेवासम्बन्धी निर्देशिका, अभियान तथा स्वास्थ्यसम्बन्धी अपडेटलगायतका सूचना भाइबरले प्रयोगकर्तासम्म पुर्याउन सहयोग गर्नेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सिनियर हेल्थ एडमिनिस्ट्रेटर डा. प्रकाश बुढाथोकीले भाइबरसँगको साझेदारीबाट मन्त्रालयका विभिन्न विषय नागरिक/व्यक्तिसम्म पुर्याउन सहयोग गर्ने उल्लेख गरे।
‘स्वास्थ्य सम्बन्धित जानकारी जनमानसमा पुर्याउने हाम्रो प्रयासलाई विस्तार गर्न राकुटेन भाइबरसँग मिलेर काम गर्न पाउँदा अत्यन्त खुसी छौं,’ उनले भने।
राकुटेन भाइबर, एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले मन्त्रालयसँग सहकार्य सामाजिक जिम्मेवारी पूरा गर्ने एक कदम भएको उल्लेख गरे।
‘नेपाल सरकारसँगको सहकार्यले पारदर्शिता, संलग्नता र महत्त्वपूर्ण सूचनाहरूमा नागरिकको पहुँच बढाउनका लागि प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अगाडि बढेको छ,’ उनले भने।


