काठमाडौँ- ‘फोन पे भारत’ले काठमाडौंमा सेवाहरूबारे जानकारी दिन प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ।
युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) प्लेटफर्मद्वारा संचालित फोन पेले नेपाली ग्राहकहरूलाई जानकारी दिने उद्देश्यले प्रदर्शनी गरेको जानकारी दिएको छ।
कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, यु.पी.आई भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ।
कार्यक्रमलाई नेपालको भुक्तानी प्रणाली सञ्चालक फोन-पेले समर्थन गरेको थियो। फोन पे नेपाल-भारत क्रस बोर्डर युपीआई अन्तरआवद्धताका लागि एनआईपीयलको काउन्टर-पार्टी पनि हो।
कार्यक्रममा फोनपे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआईको सम्भावनाको बारे धारणा राखेका थिए।
नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो। प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा, एसियाली विकास बैंक (एडीबी) जस्ता प्रतिष्ठित प्यानल सदस्यहरु थिए।
फोनपे भारतका कार्यकारी अधिकृत रितेश पाईले फोनपेको विकासक्रम, भुक्तानी प्रणाली र सुरक्षालगायतका विषयमा जानकारी दिएका थिए। पाइले नेपालमा युपीआई प्लेटफर्मद्वारा सञ्चालित सेवाहरू संचालन गर्न पाउँदा हर्षित भएकाे बताए।
‘नेपालमा युपीआईको सफलताको लागि यो एकताबद्ध भावनाको पनि प्रमाण हो जस प्रति हामी निकै आभारी छौं। भारतीय यात्रुहरुको लागि नेपाल एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो। युपीआई को साथमा अब भारतीय नागरिकहरुले आफ्नो देशमा झैँ नेपालमा पनि नगदरहित भुक्तानीको अनुभव लिन सक्नु हुनेछ। यसले उहाँहरुको यात्राको अनुभवलाई बढाउनुको साथसाथै डिजिटल लेनदेनलाई पनि प्रोत्साहन दिन्छ,’ उनले भने।
कार्यक्रममा एनपीसीआईका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भारतीय उपभोक्ताहरूले आफूलाई उपयुक्त लाग्ने युपीआई -सक्षम एपहरू प्रयोग गरेर नेपालभर तत्काल, सुरक्षित र सुविधाजनक भुक्तानीहरू गर्न मिल्ने भएको बताए।


