सल्यान- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहका जनप्रतिनिधिको सोच्ने तरिकाले नै जनप्रपतिनिधिको सेवाप्रवाहबारे थाहा हुने बताएका छन्।
आफ्नो स्वागतका लागि गाउँपालिकाका कमर्चारी, शिक्षक र विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराउनका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी पाएपछि घुमाउरो पारामा त्यसको विरोध गरेका हुन्। यद्यपि उनले सार्वजनिक बिदाको विषयमा भने कुनै धारणा राखेनन्।
सल्यानको दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा प्रचण्ड आउने भन्दै गाउँपालिकाले पालिकाभरका विद्यालय र सरकारी कार्यालय बन्द रहने गरी सार्वजनिक बिदा दिएको छ।
‘सेवाप्रवाह कति चुस्त र जनउत्तरदायी छ भन्ने कुराले सरकारको छवि आम नागरिकमा स्थापित हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदातर्फ संकेत गर्दै भने, ‘यसर्थ, राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधका निम्तिसमेत स्थानीय सरकार र जनप्रतिनिधिहरूले काम गर्नुपर्दछ।’
विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने प्रचण्डले बताए।
‘योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्नेछन्।’
दार्मामा प्रचण्ड आउने भएपछि गाउँपालिकाले दियो सार्वजनिक बिदा


