काठमाडौँ- कैलाली टीकापुरको १५ बिघा सरकारी जग्गा व्यक्तिको नाममा पारेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले टीकापुर मालपोत र नापीका तत्कालीन प्रमुखसहित जग्गाधनीउपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
कैलालीको साविक नारायणपुर-८ मा २०२१ सालको फिल्डबुकमा जंगल कायम रहेको २७ बिघा जंगलबाट कित्ताकाट गरी हकभोगको जग्गा भन्ने बनाई व्यक्तिका नाममा दर्ता गरिदिएको आरोपमा मुद्दा दायर गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर मालपोतका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली र नासु अग्नीबहादुर शाही, नापीका तत्कालीन अधिकृत मानबहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलसहित आफ्नो नाममा जग्गा धनीपूर्जा बनाउने विन्द्र रावल, कमलबहादुर रावल, सुशीबहादुर रावल र विमलबहादुर रावलउपर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनीहरूबाट जनही २४ करोड ६ लाख ६९ हजार बिगो दाबी गरिएको छ।




