काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सोमबार दिउँसो फोहोर बोक्ने ट्रकका चालक पक्राउ परेको भन्दै सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिए।
‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले’, फेसबुकमा बालेनले लेखेका थिए, ‘जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन।’को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन!

फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर सम्बन्धि मेयर बालेन फेसबुकमा अर्काे स्टाटस शेयर गरेर लेख्छन्-
‘फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए।
जो कोहीले यत्ति बुझ्नुहोला ( पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाण्डौ महानगर यसमा संवेदनशील छ।
अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहक मा अपमान महानगरले सहँदैन।
बुझेर कदम चाल्नुहोला।’

बालेनका यी स्टाटस काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध गरेको घटनासँग सम्बन्धित थियो।
शनिबारदेखि बञ्चरेडाँडामा रोजगारीको माग राखेर बलामी युवा समाजले फोहोर रोकेको थियो। उनीहरुले फोहोर लिएर जाने गाडीलाई अवरोध गर्ने क्रममा फोहोर बोक्ने निजी कम्पनीका चारवटा गाडीमा क्षति भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
त्यसपछि महानगरपालिकाले प्रशासनसँग अनुरोध गरेर अवरोध खुलाउन भनेपनि जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटले सहयोग नगरेको महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बताए।
सोमबार विहान महानगरपालिकाको फोहोर बोकेका गाडी माओवादी पार्टी कार्यालय पेरिस डाँडा र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेका थिए। त्यहाँबाट फोहोर बोक्ने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसपछि काठमाडौं महानगरपालिकाले सोमबार बिहान फोहोर बोकेको ४ ट्रक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा र ४ वटा गृहमन्त्री रवि लामिछानेको पार्टी कार्यालय बनस्थलीमा पठाएको थियो।
लम्सालका अनुसार फोहोर बोकेको गाडी पार्टी कार्यालयमा पठाएको खबर पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई दिइएको थियो।
रास्वपा पार्टी कार्यालयतर्फ गएका ट्रकलाई प्रहरीले बाटैमा रोकेको थियो भने पेरिसडाँडा गएका ट्रकका चालक भने पार्टी कार्यालयको गेटमै पक्राउ परेका थिए।
त्यसपछि मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखेको र स्टाटस लेखेको केहीबेरमा ट्रक चालकहरु रिहा भएका र बञ्चरेडाँडाको अवरोध पनि हटेको लम्सालले बताए।
याे पनि
सिंहदरबार, पार्टी कार्यालय र नेताका घरबाट फोहोर नउठाउने बालेनको चेतावनी


