काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। दोहोरो नागरिकताको मुद्दामा अनुसन्धान गर्नका लागि सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध मिडियाले लागिपरेर खेदो खनेको संसदमा नै बताएका थिए। तर आफू मिडियालाई नमिलाउने बताएका उनी मातहतको निकाय धनुषा जिल्ला प्रहरी कार्यालयले सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको हो।
गृहमन्त्री लामिछानेले पत्रिकामा प्रकाशित समाचारका आधारमा संसदीय छानबिन समिति गठन नहुनेसमेत उल्लेख गरेका थिए। अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका छन्।
तर राज्यशक्तिको दुरुपयोग गरेर हुने प्रतिशोधबाट आफू विचलित नहुने समेत उल्लेख गरेका छन्।
‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो। म आफैं पनि जेल गएको हुँ। निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु। तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन।’
संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ।
अध्यक्ष सिरोहियाविरुद्ध पूर्वाग्रहका आधारमा पक्राउ पुर्जी जारी भएको भन्दै कांग्रेसले प्रतिनिधिसभाको मंगलबारको बैठकमा कुरा उठाएको छ। ‘आग्रह र पूर्वाग्रहका आधारमा कसैलाई पक्राउ पुर्जी जारी गर्छ भने कांग्रेसले राणा सहेन, राजा सहेन। अहिले पनि अरूलाई सहँदैन,’ कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभामा भने।
नेपाल मिडिया सोसाइटीले समाचार प्रकाशन गरेको झोँकमा गृहमन्त्री लामिछानेले प्रतिशोध साँधेको भन्दै भर्त्सना गरेको छ। ‘व्यक्तिगत रिसइबी र इगो साध्ने हतियारका रूपमा आफ्नो मातहतको निकायलाई दुरुपयोग गरी कथित नागरिकताको कमीकमजोरीको प्रचारबाजी र जाहेरी दर्ता गर्न लागएर पक्राउ पुर्जी जारी गरेको घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछु,’ सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्।
यसैबीच नेपाली कांग्रेसका नेताहरूको एक टोलीले कान्तिपुर पब्लिकेसन पुगेर सिरोहियासँग भेट गरेको छ।


