धनुषा– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिनको म्याद थप गरी हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।
अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो।
नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएको हो।
प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेका थिए।
सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्सस्थित कार्यकक्षबाटै पक्राउ गरेर धनुषा ल्याएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले मिडियामा आफूविरुद्ध समाचारहरू आइरहेको भन्दै सदनबाटै चुनौतीपूर्ण अभिव्यक्तिहरू दिएका थिए।


