काठमाडौं – नेपाली फुटबलमा अनुभवी प्रशिक्षक राजु काजी शाक्यको न्यु रोड टिम(एनआरटी) ले थ्रिस्टार क्लबलाई शुक्रबार १–० ले हराएको छ। सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्रिस्टार क्लबले साँधुरो हार बेहोरेको हो।
अहिले २२ अंकका साथ थ्रिस्टार क्लब तालिकाको दोस्रो स्थानमा रहेको छ। आज उसलाई जित निकालेर शीर्षस्थानमा जाने अवसर थियो। उसको त्यो अवसर खेर गएको छ। अघिल्लो खेलमा शीर्षस्थानमा रहेको जावलाखेल युवा क्लबले जित निकाल्न नसकेपछि उसले शीर्षस्थानमा अग्रता बनाउने अवसर गुमाएको थियो।
यता अघिल्लो खेलमा नै थ्रिस्टारले मछिन्द्रसँग गोलरहित बराबरी खेलेपछि थ्रीस्टारले शीर्षस्थानमा जाने अवसर गुमाएको थियो। आज लिगको तेस्रो हार बेहोरेर उसले शीर्षस्थानमा जाने अवसर फेरि गुमाएको हो।
एनआरटीका लागि सन्जिब विष्टले निर्णायक गोल गरेका थिए। उनले खेलको ३७ औं मिनेटमा गोल गरेसँगै पहिलो हाफमै थ्रिस्टार एक गोलले पछि थियो। यता थ्रिस्टारले पेनाल्टीको अवसर पाए पनि फरवार्ड सन्तोष साहुखलाले पेनाल्टीमा गोल गर्न सकेनन्।
खेलमा एनआरटीका गौरव श्रेष्ठले डिबक्स भित्र थ्रिस्टारका डिफेन्डर पिटर सेगुनलाई लडाएपछि थ्री स्टारले पेनाल्टीको अवसर पाएको थियो। तर सन्तोषले त्यो अवसर मिस गरे।
यससँगै एनआरटीले चौथो जित निकालेको हो। अहिले एनआरटी १३ खेलमा १६ अंक जोडेर आठौं स्थानमा छ।


