चितवन- प्रहरीले निजी विद्यालयको बसमा आगजनी गरेको आरोपमा सरकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पक्राउ गरेको छ।
प्रहरीले गत बैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसलाई भरतपुर २० दद्रहनी पुलमा रोकी पेट्रोल बम प्रहार गरेर आगजनी गरेको आरोपमा विश्वनाथ थारु महेशलाई पक्राउ गरेको हो।
पक्राउ परेका थारु भरतपुर २५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ।
उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो। विद्यालय हाताभित्रबाट व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको भन्दैं विद्यालयले विज्ञप्ति नै निकालेर विरोध गरेको थियो।
३ वटा मोटरसाइकलमा आएका६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्ण रुपमा जलेको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।


