काठमाडौँ– चिनियाँ स्टार्टअप कम्पनी होजोन न्यू इनर्जी अटोमोबाइल्सले उत्पादन गरेको कार ‘नेटा’ चीनबाट बढी निर्यात हुने कारको सूचीमा परेको छ। इलेक्ट्रिक गाडीको स्टार्टअपतर्फ कम्पनीले सबैभन्दा बढी कार निर्यात गरेर चीनमा कीर्तिमान बनाएको हो।
जनवरीदेखि अप्रिलसम्मको तथ्याङ्कअनुसार नेटाका १३ हजार ६९४ वटा कार चीनबाट निर्यात भएका छन्। यस्तै, दोस्रो नम्बरमा एक्सपेङ्ग तीन हजार २९ वटा, सेरेस दुई हजार ६९१ वटा र स्काइवर्थ ३६८ वटा निर्यात भएका छन्।
नेपालसहित विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको इलेक्ट्रिक भेहिकल ब्रान्ड नेटाले हाल चिनियाँ बजारमा नेटा–भीसहित नेटा आया, नेटा यू, नेटा एक्स, नेटा एस, नेटा जीटी जस्ता मोडलहरू बिक्री गरिरहेको छ।
सन् २०२४ को अन्त्यसम्ममा विश्वका ५० देशमा ५०० वटा सेल्स एण्ड सर्भिस आउटलेट स्थपना गर्ने योजनाका साथ अघि बढिरहेको नेटाले नेपालमा सीजी मोटर्समार्फत नेटा–भी बिक्रीवितरण गरिरहेको छ।

