काठमाडौं- इसेवा लिमिटेडले कलाकार सुमन कार्कीलाई ब्रान्ड एन्डोर्सर बनाउने सम्झौता गरेको छ। मंगलबार इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार कार्कीबीच ललितपुरको पुल्चोकस्थित इसेवाको मुख्य कार्यालयमा एक औपचारिक कार्यक्रममार्फत सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
यस साझेदारीको बारेमा बोल्दै इसेवाका चिफ बिजनेस अफिसर गौतमले इसेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्त्वपूर्ण भूमिका हुने बताए। लोकप्रिय नेपाली रियालिटी शो कमेडी च्याम्पियनबाट हास्य कलाक्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यगं क्षेत्रमा छोटो समयमै असाधारण लोकप्रियता पाउने कलाकारको रूपमा आफूलाई स्थापित गर्न सफल भएका छन्।
आउने दिनहरूमा इसेवाले गर्ने विभिन्न कार्यक्रम तथा योजनाहरूमा उनको कलाकृत मार्फत ग्राहकहरूलाई मनोरञ्जनात्मक शैलीद्वारा प्रचारप्रसारमा मद्धत पुग्ने विश्वासको साथ यो सम्झौता गरिएको पनि चिफ बिजनेस अफिसर गौतमले बताए। इसेवा र कार्की बीचको यस साझेदारीले ब्रान्डको प्रचारप्रसारसँगै दर्शक र ग्राहकहरूले रमाइलो शैलीको प्रस्तुत सामग्रीहरू पनि देख्न पाउनेछन्।
इसेवाको हाल नेपालको ७७ वटै जिल्लामा पहुँच छ। सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि आठ वटा शाखा कार्यालय र तीन वटा सम्पर्क कार्यालय नेपालभरका प्रमुख सहरहरूमा अवस्थित रहेका छन्। यस कम्पनीसँग ८० लाखभन्दा बढी दर्ता भएका ग्राहकहरू, दुई लाख ५० हजारभन्दा बढी एजेन्टस्, ४९ बैंक तथा वित्तीय संस्था, ४५ लघुवित्त र दुई हजार २०० भन्दा बढी इसेवा क्यास पोइन्ट तथा तीन लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन्।


