काठमाडौँ- ताप्लेजुङमा ५८ वर्षयताकै उच्च तापक्रम रेकर्ड तोडिएको छ।
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङले शनिवार सदरमुकाम फुङलिङमा २९ डिग्री सेल्सियस तापक्रम मापन गरेको छ।
बुधवार २८.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको कार्यालयको भनाइ छ। यसअघि सन् १९६६ मा २८.७ डिग्री तापक्रम रेकर्ड भएको पाइएको कार्यालयको भनाइ छ।
१७ सय मिटर उचाइमा रहेको सदरमुकाम फुङलिङको तुलनामा औल क्षेत्रमा भने अझै गर्मी छ।
उता धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस भन्दा बढी पुगेको छ।
मौसम तथा विज्ञान विभाग अन्तर्गत महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बिहीबार ४४.१ डिग्री सेल्सियस तापक्रम मापन गरेको छ।
बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ।
तराईका अधिकांश जिल्लामा अत्यधिक गर्मी बढेको छ। यस्तै लु चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।
काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको छ।
‘नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ। मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्नसक्छ,’ मानन्धरले भनिन्।
दिपायलमा ३६ दशमलव ६ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ।


