काठमाडौँ- सरकारले ३ जना सचिवको सरुवा गरेको छ। सचिवहरु मधुसुदन बुर्लाकोटी, विनोदप्रकाश सिंह र हरिप्रसाद मैनालीलाई सरुवा गरिएको हो।
बिहीबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र महालेखा नियन्त्रकको कार्यालयका सचिवको सरुवा गरेको हो।
स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, वित्त आयोगका सचिव विनोदप्रकाश सिंहको महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रक हरिप्रसाद मैनालीको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको हो।
वित्त आयोगका सचिव सिंहको डेढ महिना अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आयोगका सरुवा भएको थियो। उनको डेढ महिनाकै अवधिमा तीन निकायमा सरुवा भइसकेको छ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बुर्लाकोटीको पनि दुई महिना नपुग्दै सरुवा भएको छ। महालेखा नियन्त्रक मैनालीको भने करिव २० महिनापछि सरुवा भएको हो।


