खाडीमा सुकेका खबुज
मनमनै तिता यथार्थ
कहिले लेबर कोर्ट
कहिले हाइ कोर्ट
क्याम्पबाट लेबर एट्याचीको
पत्र बोकी विवश छन्
मजरामा मेहनत गर्नेहरू
गत्रा ओढी भेडा र उँट चराउनेहरू
मुदारको रिसाएको मुहार
कपिलले गर्ने अन्यायपूर्ण व्यवहार!
शासक विप्रेषणमा विकास देख्छ
नागरिकलाई दास ठान्छ र खाडीमा बेच्छ
अनि गर्छ सुनौलो घोषणा,
रोजगारीको ग्यारेन्टी
समाजवाद उन्मुख सुखी र समृद्ध नेपाल!
अनि उल्ट्याएको छ काम र व्यवहार!
रेमिटेन्सको चक्करमा
खाडीको आरनमा रन्किरहेछन् देशका मेरुदण्ड
जसले मरुभूमिमा हरिया जङ्गल बनाए
बालुवामा गगनचुम्बी महल उठाए
उसलाई आज
भोक न प्यास
शोक न सुर्ता
छ त फगत कल्पनामा
खुशी परिवार!
जसले घर बिर्से, सहर बिर्से, रहर बिर्से
मात्र सन्तानको हातमुख मिलाउन
कखरा चिनाउन र
सिटामोल किनाउन
तर देशले उसैलाई बिर्सियो
र शासकले लगाइदियो विप्रेषणको भारी
झुन्ड्याइदियो अदक्षको ट्याग
देख्छ मात्र दास
अझै ऊ मरुभूमिमा गधा जोतिरहेछ
मुदारलाई सलाम ठोकिरहेछ
पगरीमा ऋण बोकिरहेछ
मनमनै आफैंसँग झोक्किरहेछ
हे शासक!
अब त बुझिदेऊ न श्रमिकको मर्म
गरिदेऊ न थोरै न्याय र धर्म
सयौँ वाचा सुनेको उसले
आफ्नै पुर्पुरो सराप्दै
भन्यो- हुने हार दैव नटार!
हार-गुहार! हार-गुहार!!


