सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआत गरिएको छ। आज एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद माधव सापकोटाले सुन्तलाको बिरुवा रोपेर व्यावसायिक सुन्तलाखेतीको सुरुआत गरे।
त्यसअवसरमा सापकोटाले सुन्तलाखेतीबाट आर्थिक अवस्था सुधार र स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवाको पलायन रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले मेलडाँडाबाट सुरु भएको नमुना खेतीलाई क्रमशः विस्तार गरेर वडा नं ३ र ४ मा विस्तार गरिनपर्नेमा जोड दिए।
बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले नगदेबाली र सहकारीको संयोजनमा हुने सामूहिक खेतीका लागि गाउँपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि उत्पादनसहित पर्यटन प्रवर्द्धनको उद्देश्य पूरा गर्न प्रदेश एवं सङ्घीय सरकारले सिँचाइ र सहज आवतजावतका लागि सिँडी निर्माण गर्न सहयोग गर्नुपर्ने बताए।
काठमाडौँ विश्वविद्यालयबाट कृषि विज्ञानमा विद्यावारिधि गरिरहेका शोधार्थी गोविन्द पाठकले सुन्तला रोप्ने तरिका र उपचार विधिका विषयमा जानकारी दिएका दिए। बलेफी गाउँपालिकाका कृषि अधिकृत सुवास अधिकारीले भूगोल सुहाउँदो भएकाले पालिकालाई पकेट क्षेत्र बनाउन सहयोग गर्ने बताए। वडा न ४ का अध्यक्ष सुर्जे तामाङले सबै मिलेर व्यावसायिक खेती सफल पार्नुपर्ने धारणा राखे।
सहकारी संस्थाका अध्यक्ष हरि तामाङका अनुसार आज खोकु जातका दुई हजार सुन्तलाका बिरुवा रोपिएका छन्। बलेफी–४ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सुन्तला रोप्न खाल्डो खन्ने, पत्कर सङ्कलन र झाडी सुधारको काम गरेको थियो।


