काठमाडौँ- कारसँग ठक्कर खाँदा बस त्रिशुली किनारामा खसेको छ।
चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठक्कर खाँदा बस त्रिशुली किनारामा खसेको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब सात बजे काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४०६२ रात्री बस ठक्कर खाएको थियो। बसमा ३५ जना र कारमा ५ जना यात्रु रहेका जनाइएको छ।
दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको जनाइएको छ।
यद्यपि, बाँकी विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।


