चितवन- बिहीबार ढल खन्ने क्रममा तीन जना महिला मजदुरको मृत्यु भएपछि बढेको तनाव हटाउन सहमति भएको छ।
कावासोती नगरपालिकाका प्रतिनिधि र पीडित पक्षबीच १० बुँदे सहमति भएको हो।
सहमति अनुसार माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका तीन जना महिलाको परिवारलाई नगरपालिका कार्यालयले जनही १० लाख रुपैयाँ दिने भएको छ।
मृतकका बालबच्चाको नाममा ५ लाख रुपैयाँ मुद्दती खाता खोली जम्मा गरिदिने र परिवारलाई तत्कालै ५ लाख रुपैयाँ दिने सहमतिमा उल्लेख छ।
मृतकका परिवारका एक जना सदस्यलाई रोजगारी दिन पनि नगरपालिका तयार भएको छ।
नगरपालिकाले मृतकका बालबच्चालाई १२ कक्षासम्म शैक्षिक सामग्री पनि दिने भएको छ।
बिहीबार कावासोती नगरपालिका-२ फलफूल चोकमा ढल निर्माणका क्रममा स्थानीय ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमया मगर र ३२ वर्षीया चमेली सिंजालीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको थियो ।
कावासोती नगरपालिका-५ निवासी उनीहरूको नगरपालिकाको लापरबाहीले मृत्यु भएको आरोप स्थानीयबासी र आफन्तले लगाएका थिए।
प्रदर्शनमा उत्रिएकाहरूले छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्नुपर्ने माग पनि अघि सारेका थिए।




