काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ। नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए।
हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीति समेत महानगरले लिएको छ। त्यस्तैगरी विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ र स्वयम्भुनाथलाई महानगरकै मातहतमा सञ्चालन र व्यवस्थाका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल र परामर्श गर्ने नीति लिएको पनि उनले जानकारी गराए।
साथै इन्द्र जात्रा, सेतो मच्छिन्दनाथ जात्रा, पचली भैरव जात्रा तथा अन्य पर्व तथा स्थानीय परिकारलाई संरक्षण र सम्बद्र्धन गर्दै सम्भावना भएका थप कला संस्कृतिहरुलाई युनेस्कोमा सूचीकृत गर्न आवश्यक पहल गर्ने नीति लिइने उनको भनाइ छ।


