बारा- रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ।
गाउँको घर खजुरियाबाट मोटरसाइकलमा कलैया जाँदै गरेको अवस्थामा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा गाउँदेखि दक्षिणमा रहेको लागहासनमाईको मन्दिर अगाडि करिब साढे ५ बजेको समयमा अज्ञात समूह दुई वटा मोटरसाईकलमा रहेका ४ जना व्यक्तिहरूले अगाडिबाट रोकी पिठयुमा १ राउण्ड गोली प्रहार गरि घाइते बनाएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।
बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो।
गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ।
गोली प्रहार गर्ने व्यक्तिहरूको व्यापक सुरक्षा परिचालन गरि खोजतलास तीव्र पारिएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिएका हुन्। कसले किन गोली हानेको हो भन्ने विषय अहिले नखुलेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिए।
करिब ५३ वर्षीय कुसवाहा लामो समय देखि क्याम्पसमा पढाउँदै आएका थिए।


