काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको कुरा गर्न नसुहाउने टिप्पणी गरेका छन्।
जनकपुरमा आयोजित स्थानीय तहमा कानूनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धु टी-इस्टेटसम्बन्धी विषयमा फेसबुकमा स्टाटस लेखेपछि एमाले, माओवादी र नेपाली कांग्रेसका नेता बालुवाटारमा बसेको आरोपसमेत लगाए।
‘भ्रष्टाचार बढेको बढ्यै छ। कहीँकतै पनि भ्रष्टाचारमा कमी आएको म देख्दिनँ। दुर्भाग्य भन्नुपर्छ अस्ति बालेनजीले गिरीबन्धुको कुरा निकाल्दिनुभो,’ उनले भने, ‘त्यसको भोलिपल्टै तीन वटै नेता बालुवाटारमा बस्नुभो, बालेनलाई कसरी तह लगाउने भनेर!’
बालेनले गिरीबन्धु टीइस्टेटको जग्गा प्रकरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार करोड अपचलन गरेको आरोप लगाएका थिए।


