काठमाडौँ गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको मुद्दाको सुनुवाइ आज हुँदै छ।
यस अघि हेर्न नमिल्ने भन्दै सरेको पेशी आजका लागि तोकिएको छ। आज दुई न्यायाधीशको इजलासले यो मुद्दाको सुनुवाइ गर्ने छन्।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए। इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको हो।
महान्यायाधीवक्ताको कार्यालयले गृहमन्त्री विरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान अभियोगपत्र र जाहेरी नभएको भन्दै क्लिन चिट दिएको थियो।
उक्त बदर हुनुपर्ने माग उठेको थियो। सोही माग बोकेर रिट निवेदक सर्वोच्च पुगेका थिए। सुरुमा उक्त रिट दरपिठ भएको थियो। पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो।
दर्ता भएपछि सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरी देखि रुपन्देही जिल्ला अदालतमा रहेको अभियोग पत्रसम्म मगाउने आदेश गरेको छ।
त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अध्ययन प्रतिवेदन पनि पेस भएको छ। यी प्रमाणहरूको आधारमा दुवै पक्षको बहस सुनेर सर्वोच्चले निर्णय दिने छ।


