काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको पानी नआउँदा पनि काठमाडौँमा उपत्यकामा पानीको समस्या नहुने बताएको छ।
केयूकेलले दैनिक ४ करोड लिटर पानी पैँचो लिएर भए पनि काठमाडौँ उपत्यकालाई पानीको समस्या हुन नदिने जनाएको हो।
केयूकेलका प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्चीको पानी नआउँदा अब काठमाडौँमा शिवपुरी धाप ड्यामबाट दैनिक ४ करोड लिटर पानी ल्याइनेछ ।
‘मेलम्ची नआउने बित्तिकै पानीको हाहाकार हुन्छ भन्ने हुँदैन, हामी ४ करोड लिटर दैनिक धाप ड्यामबाट वाटर ट्रेडिङ मार्फत सुन्दरीजल हुँदै सिस्टममा पठाउँछौं। मेलम्ची आएपछि धापलाई उक्त पानी पैंचो तिर्छौं,’ केयूकेएलका प्रवक्ता राईले भने।
अर्थात हिउँदमा मेलम्चीको पानी आउन समस्या हुँदैन र त्यही समयमा धाप ड्यामको पानी बागमतीको बहाव बढाउन प्रयोग गर्नुपर्ने अवस्था हुन्छ। तर ड्यामको पानी प्रयोग नगरी मेलम्चीकै पानी बागमतीको बहाव बढाउन प्रयोग हुने उनले बताए।
उनले अलि ठूलो वर्षा भएपछि सुन्दरीजलमा पानीको मूल बढ्ने बताउँदै वर्षामा हाहाकार हुने अवस्था नआउने बताए।
मेलम्चीको पानी नआउँदा रुटिन परिवर्तन गर्ने छ । अहिले जति दिनमा खाने पानी आउने गरेको छ, त्यो अवधि बढ्ने राई बताउँछन्। पानीको आपूर्ति हेरेर एक दुई दिन भित्रै केयूकेएलले नयाँ रुटिनमा काम सुरु गर्ने उनले बताए।
केयूकेएलका अनुसार काठमाडौं उपत्यकामा दैनिक ४३ देखि ४६ करोड लिटर पानीको माग रहेको छ। मेलम्चीसहित केयूकेएलले दैनिक करिब २६ करोड लिटर पानी आपूर्ति भइरहेको छ।
मेलम्ची आयोजनाबाट मात्रै दैनिक करिब १५ करोड पानी आपूर्ति हुने गरेको छ। अब मेलम्चीको पानी नआउँदा करिब १५ करोड लिटर पानी घट्छ भने धाप ड्यामबाट ४ करोड लिटर पानी थप हुन्छ।


