काठमाडौँ- नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाएको ताला प्रेस चौतारी र प्रेस सेन्टरले फोडेपछि तनावको अवस्था सिर्जना भएको छ। शनिबार चौतारी र सेन्टरले ताला फोडेपछि तनाव सिर्जना भएको हो।
नेपाल प्रेस युनियनका सचिव लालकुमार मोक्तानका अनुसार युनियनले लगाएको ताला फोडिएपछि महासंघमा तनावको अवस्था सिर्जना भएको हो। उनले चौतारी र सेन्टरले महासंघलाई मुठभेडतर्फ लैजान खोजेको बताए।
‘महासंघलाई मुठभेडतर्फ लैजान खोज्नेहरुविरुद्ध एकजुट हुन जरुरी छ,’ युनियनका सचिव मोक्तानले भने, ‘कुनै पनि संगठनले लगाएको ताला खोल्ने प्रक्रिया हुन्छ। यसरी ताला फोड्नु पत्रकारहरूलाई विभाजन गर्ने उद्देश्य हो। यसले समाधान निकाल्दैन।’
आफूहरूले लगाएको ताला फोड्ने काम शक्तिको तुजुक मात्र भएको उनको टिप्पणी छ।
युनियनले लगाएको ताला फोडेपछि युनियनका सदस्यहरू पुन: तालाबन्दीका लागि पुगेका थिए। पुन: तालाबन्दी गर्न खोज्दा चौतारीका पत्रकारले युनियनका नेताहरूमाथि धकेधाकेल गरेका थिए।
नेपाल प्रेस युनियनले शुक्रबार राति नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो।
शुक्रबार राति ९ बजे महासंघ निर्वाचन कमिटीले प्रकाशन गरेको पत्रकारको अन्तिम नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनले तालाबन्दी गरेको हो।
महासंघले २२ गते चुनाव गर्ने भनेर आज (असार १५ गते) केन्द्रीय तहको उम्मेदवारी दर्ता गर्ने कार्यसूची बनाएको थियो।


