मुग्लिन (चितवन)– नेपालमा गोताखोरको संख्या ११० पुगेको छ। बागमती प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालन गरिएको तालिमबाट १९ जना प्रशिक्षार्थी तयार भएसँगै ११० जना गोताखोर पुगेको सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले जानकारी दिए।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तालिम सञ्चालन गरिएको थियो। चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो।
शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको जानकारी दिए।
प्रशिक्षार्थीहरूले पानीजन्य घटना र दुर्घटनामा उद्धारसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेका थिए। पानीमा फसेका व्यक्तिको उद्धारका लागि गोताखोर तालिम आवश्यक हुन्छ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमान्दारिका साथ मानव सेवामा समर्पित गर्न आग्रह गरे।
‘देशमा मनसुन सुरु भइसकेको छ, नागरिकको जीउधनको सुरक्षा गर्ने कुरालाई केन्द्रविन्दुमा राखेका छौँ,’ उनले भने।
प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि अहम भूमिका निर्वाह गरिरहेको बताएका थिए।
तालिम समापन कार्यक्रममा चितवन र गोरखाका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायक रथी रोजप्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडामगर, चितवन, धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो।


