काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आफ्नो चरित्रहत्याको प्रयास भइरहेको बताएकी छन्। मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा प्रतिनिधि सभाकी सांसदसमेत रहेकी देउवाले केही व्यक्तिहरुले व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने काम गरिरहेको दाबी गरेकी हुन्।
स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले प्रतिनिधि सभाको बैठकमा आरजुलाई लक्षित गर्दै ‘गणतन्त्रकी पम्फादेवी’ भनेका थिए। त्यसयता उनले विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्तामा पनि आरजुलाई ‘गणतन्त्रकी पम्फादेवी’ भनेका थिए। यसै विषयमा नेपाल क्लिक्सले समाचार लेखेपछि आरजुले विज्ञप्ति जारी गरेकी हुन्। आफूमाथि निराधार र कपोकल्पित आरोप लगाएर दुष्प्रचार गरिएको दाबी आरजुको भनाइ छ।
‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनाशय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेकी छिन्, ‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ। तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छना लगाउने अधिकार छैन।’
मिडियाले तथ्यमा टेकेर मिडियामार्फत सूचना र विचार दिन सकिने भएपनि नियोजित रुपमा व्यक्तिगत मानमर्दन गर्ने काम भइरहेको जिकिर गरेकी छन्। ‘नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चारमाध्याममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतिमा उत्रिनु खेदजनक छ,’ उनले भनेकी छन्।


