तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ।
शनिबार दिउँसो पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए।
स्थानीय हिरा नेपालीको घर पुरिदाँ उनीसहित ३ जना पहिरोमा पुरिएका थिए। हिराको शव शनिबार नै भेटिएको थियो।
बेपत्ता भएका अनिषा बास्तोला र श्याम भण्डारीको शव आइतबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ।
हिराको घरभित्रका सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए।
पहिरोमा परी घाइते भएका ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपालीको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।


