काठमाडौ- नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धारवाहन (गाडी) उपलब्ध गराएको छ। मंगलबार काठमाडौँको बोहोराटारस्थित मानव सेवा आश्रम पुगेर बैंकको उच्च नेतृत्वले आश्रमलाई गाडीको चाबी हस्तान्तरण गरेको हो।
बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली चाबी हस्तान्तरणका लागि बोहराटार पुगेका थिए। उनीहरूले गाडीको चाबी संयुक्त रूपमा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन्।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवामा उत्कृष्ट काम गरेको भन्दै आश्रमलाई सहयोग उपलब्ध गराएको हो। चाबी हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको प्रतिक्रिया दिए। उनले यस्तो संस्थालाई नबिल बैंकले सघाउन पाउँदा खुसी लागेको बताए। अध्यक्ष पौड्यालले राज्यसँगै नागरिक र संस्थाहरूको पनि उत्तिकै उत्तरदायित्व रहेको बताए।
बैंकका सीईओ ढुंगानाले नबिल बैंक सधैँ मानव सेवाका कार्यहरूमा तयार रहेको बताए। उनले मानव सेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व भएको र भविष्यमा पनि यस्ता कार्यहरूमा साझेदारी गर्न नबिल बैंक इच्छुक रहेको बताए।
नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मानव सेवा आश्रमले बेसहारा बनेका मानिसहरूलाई खाना, सुरक्षा, र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुनपाउँदा खुसी लागेको बताए।
मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिनाई रहेकोमा बैंकले सहयोग गरेको भन्दै खुशी व्यक्त गरे।
‘सडक आश्रित व्यक्तिहरूको उद्धार तथा उपचारका लागि ट्याक्सी लगायतका सवारी साधनले आनाकानी गर्दा समस्या भइरहेको थियो। अब यी गाडी प्राप्त भएपछि सेवा सहज र शीघ्र बनाउन सकिने विश्वास छ। यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौँ,’ उनले भने।
चाबी हस्तान्तरण कार्यक्रममा गायिका आनी छोइङ डोल्मा पनि सहभागी थिइन्।
२०६९ सालदेखि सञ्चालनमाआएको मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी ७ हजारभन्दा बढीलाई आश्रय दिएको छ।
सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, र पालन पोषणका कार्यहरू दाताहरूको सहयोगमागर्दै आएको आश्रमलाई नबिल बैंकको सहयोगले सेवाको गुणस्तर र गति बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने अध्यक्ष अधिकारीले बताए।


