काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरी सबैखाले पदीय जिम्मेवारीबाट मुक्त भएका निवर्तमान महामन्त्री डा. मुकुल ढकालले पार्टीका सभापति रवि लामिछानेमाथि पार्टीले छुट्टै छानबिन गर्नुपर्ने बताएका छन्।
पार्टीले कारबाही गरेपछि बुधबार अनामनगरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन्।
सहकारी ठगीको आरोपमा सर्वोच्च अदालतले रविमाथि अनुसन्धान गर्न सक्ने आदेश दिएकाले उनीमाथि छानबिन गर्नुपर्ने उनको भनाइ छ।
‘सर्वोच्च अदालतले हालै मात्र रवि लामिछानेमाथि अनुसन्धान गर्न आदेश दिएको छ,’ उनले भने, ‘राज्यका निकायले त यसमाथि अनुसन्धान गर्ने त भइगयो। उहाँमाथि पार्टीले पनि छानबिन गर्नुपर्छ। पार्टीको भविष्य उहाँमाथि जोडिएको छ।’
माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मन पर्न थालेको पनि पनि उनको आरोप छ।
सहकारी प्रकरणमा आफूलाई जबर्जस्ती फसाइएको बताउने गरेकाले आफूले त्यसबेला केही नबोलेको उनको भनाइ छ। तर अब भने सर्वोच्च अदालतले नै अनुसन्धान अघि बढाउनपर्ने भनिसकेकाले लामिछानेले पार्टीको सभापतिबाट समेत राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने ढकालको धारणा छ।


