काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीकी पत्नी गीता सोडारी नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर भएकी छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मुख्यमन्त्रीपत्नी गीतालाई दोषी ठहर गरेको हो।
गीतालाई ६ महिना कैद र १० हजार जरिवाना हुने विशेष अदालतको फैसलामा उल्लेख छ।
गीता धनगढी-९ स्थित शिव माविमा शिक्षिका गीतामाथि नक्कली प्रमाणपत्र पेश गरेर शिक्षकको जागिर खाएको अभियोग थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्र अनुसार गीताले बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा पास गरेको प्रमाणपत्र पेस गरेकी थिइन्। उक्त प्रमाणपत्र नक्कली भएको अख्तियारको दाबी थियो।
विशेष अदालतले अख्तियारको दाबीलाई सही ठहर गरिदिएपछि गीताले अब जेल जानुपर्ने भएको हो।
सोडारी नेकपा एकीकृत समाजवादीका नेता हुन्।


