काठमाडौँ- नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ।
शुक्रबार नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा दुई वटा बस त्रिशूलीमा खसेका थिए।
ती बसमा सवार यात्रुहरू खोज्ने क्रममा हालसम्म दुई जनाको शव फेला परेको चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।
शव भेटिएका दुवै जना पुरुष हुन्।
एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव पानीमा तैरिएको अवस्थामा भेटिएको हो।
एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्रीवस्त्र मात्रै बाँकी भएको अवस्थामा भेटिएको छ।
अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको हो।
उनीहरू कुन बसमा यात्रु हुन् भन्ने खुल्न बाँकी छ।
शनिबारै बिहान गोलाघाटमा भेटिएको पुरुषको शव सनाखत भइसकेको छ।
उनी भारत बिहारको सितामणि बर्गिनिया जमुवा बस्ने २८ वर्षीय ऋषिपल साह रहेको पुष्टि भएको छ।
डिएसपी रिजालका अनुसार उनी काठमाडौंबाट गौर जाने क्रममा त्रिशूलीमा खसेको प्रदेश०३-००१ ख २४९५ नम्बरको बसमा सवार रहेको उनको भाइ सतपाल साहले सनाखत गरेका हुन्।
सनाखत भएको शव पोस्टमर्टमपछि आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरिनेछ।


