चितवन- पृथ्वी राजमार्गअन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र त्यसका यात्रुको खोजी कार्य आज पनि जारी छ।
आज पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितका सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको छ।
नारायणी नदीमा हिजो तीन जनाको शव फेला परेको थियो।
ती मध्ये दुई जना नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर-२९ सिमलतालस्थित त्रिशुली नदीमा खसेको बसमा सवार यात्रु रहेको पुष्टि भएको छ।
हिजो बिहान भरतपुर-२८ गोलाघाटस्थित नारायणी नदीमा एउटा शव फेला परेको हो भने नवलपुरको गैंडाकोट-७ स्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो। अन्यको यात्रुको खोजी जारी छ।


