काठमाडौँ- नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार खसेका दुई बसमा ६५ जना यात्रु रहेको पुष्टि भएको छ।
बस टिकट काउन्टर र आफन्तसँगको सोधुपछका आधारमा प्रहरीले ६५ यात्रु सवार रहेको निष्कर्ष निकालेको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले काठमाडौँबाट गौर जाँदै गरेको गणपति यातायातमा ३८ जना यात्रु रहेको देखिएको बताए। प्रदेश ०३- ००१ ख २४९५ नम्बरको बसमा शुक्रबार बिहान पहिरोले सोहोरेर त्रिशूली नदीमा खसालेको थियो।
त्यस्तै वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बस २७ यात्रु रहेको पुष्टि भएको प्रजिअ यादवले जानकारी दिए।
दुई बसमा गरी ६५ जना सवार भएकामध्ये तीन जना पौडिएर बाँचेका छन्।
शुक्रबार दिउँसोदेखि सुरु गरिएको खोजीमा ५ जनाको शव भेटिएको छ।
शनिबार तीन शव भेटिएको र उनीहरू तीनै जनाको सनाखत भइसकेको छ।
आइतबार दुई शव भेटिएका छन्। दुई शवको सनाखत हुन बाँकी छ।


