काठमाडौँ- झापाको शनिश्चरेमा भारी वर्षा भएपछि खोला आसपासका वस्तिमा सतर्कताका अनुरोध गरिएको छ। शनिश्चरे वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १००.८ मिलिमिटर वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिश्चरे र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले सो क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य साना खोलामाका तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन भनेको छ। महाशाखाका अनुसार ती क्षेत्रका बासिन्दाले शुक्रबार बिहान ७ बजेसम्मै सतर्कता अपनाउनुपर्ने छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेको छ। खतराको संकेत स्वरुप साइरन बजाइएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर मध्यमदेखि भारी वर्षा भएको छ।


