काठमाडौँ- विमान दुर्घटनामा सौर्य एअरलाइन्सको व्यवस्थापन समूहकै अधिकांश परेका छन्।
व्यवस्थापन समूहमा रहेका १० मध्ये ४ जनाले ज्यान गुमाएका हुन्।
एअरलाइन्सका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा, सीएएमओ अश्विनकुमार निरौला, मर्मत व्यवस्थापक यज्ञप्रसाद पौडेलको मृत्यु भएको छ।
चिफ अफ अप्रेसन (क्याप्टेन) मनीषरत्न शाक्य दुर्घटना परी घाइते भएका छन्।
उनलाई उपचारका लागि केएमसी अस्पताल भर्ना गरिएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।
पोखरातर्फ उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलको रन-वे छोड्ने बित्तिकै विमान दुर्घटनामा परेको थियो।
यो दुर्घटनामा परी १८ जनाको मृत्यु भएको र एक जना उपचार क्रममा रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो।
मनुराज र प्रिजा श्रीमान्-श्रीमती हुन् भने ४ वर्षीय अधिराज उनीहरूका छोरा हुन्।
पारिवारिक स्रोतका अनुसार मनुराज एयरलाइन्सका प्राविधिक हुन्। सौर्य एयरले विमानमा कर्मचारी सवार रहेको जनाएको छ।
मनुराजकी श्रीमती प्रिजा ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन्। पति मनुराज पोखरा जाने भएपछि बच्चासहित प्रिजा पनि सँगै जानका लागि विमानस्थलबाट उडेकी थिइन्।
१० वर्षयता मन्त्रालयमा कम्प्युटर अपरेटरका रुपमा काम गर्दै आएकी थिइन्।
प्रिजा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरी हुन्।


