काठमाडौँ- प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडले कारोबार सुरु गरेको छ।
बुधबार प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्।
कार्यक्रमा शुभकामना मन्तव्य दिँदै सिटौलाले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे।
‘व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजीबजारको विकासमा योगदान गर्न प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस्,’ सिटौलाले भने।
कार्यक्रमका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित मार्केटले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने बताए।
प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले ब्रोकर कम्पनीको रुपमा स्थापित कम्पनीले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवा एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ-१० नयाँबानेश्वरबाट सुरु गरेको मार्केटको अधिकृत/चुक्ता पुँजी २० करोड रुपैयाँ छ।


