काठमाडौँ– सरकारले त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोग गठन गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको नेतृत्वमा आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय छ।
५ सदस्यीय आयोगका सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी सदस्य छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल आयोगका सदस्यसचिव छन्।
प्रतिवेदन तयार पारी बुझाउन आयोगले ४५ दिनको म्याद पाएको छ।
दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको केही सेकेन्डमा नै सौर्यको जहाज दुर्घटनामा परेको थियो। चालक दलका सदस्यसहित जहाजमा १९ जना सवार थिए।
यीमध्ये ५ जना सौर्यको १० सदस्यीय व्यवस्थापन समूहमध्येका ४ जना छन्। बाँकी १३ जना सौर्यकै कर्मचारी हुन्। दुई जना भने सौर्य एयरकै कर्मचारी मनुराज शर्माका श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज हुन्। शर्माको परिवारका तीनै जना सदस्यले ज्यान गुमाएका छन्।
जहाजका क्याप्टेन मनिष शाक्य भने काठमाडौँ सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचाररत छन्।


