काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा गरिएको छ।
ब्यूरो इन्चार्ज भएर काम गरेको दुई महिना नपुग्दै उनको सरुवा गरिएको हो।
डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्यूरोमा पठाइएको थियो। उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडी बढाइएको थियो।
पछिल्लोपल्ट बेचन झालाई पनि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर विदेश रहेका बेला भारतबाट ल्याइएको थियो। भारतीय प्रहरीले बेचन र प्रतीक थापालाई पक्राउ गरेर विशेष ब्युरोसँग समन्वय गरी नेपाल पठाएको थियो।
धेरै भीआईपीको संलग्नताबारे सूचनाका लागि महत्त्वपूर्ण ठानिएका बेचनमाथिको अनुसन्धान विचाराधीन नै छ। प्रतीक भने अघिल्लै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। बेचनको अनुसन्धान नसकिँदै उनलाई केसीलाई ब्युरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।
त्यहाँ कार्यरत केसीकै ब्याची राजन अधिकारीलाई विशेष ब्युरोमा ल्याइएको छ। पछिल्लो समय केसीको प्रहरी महानिरीक्षक कुँवरसँग पनि सम्बन्ध बिग्रिएको थियो।
ब्यूरोबाट हटाइएका केसीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी राजन अधिकारीलाई विशेष ब्यूरोमा पठाइएको छ।


