काठमाडौँ- गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ। यससँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन्।
प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए। आज आइतबार सार्वजनिक यातायात सेवा नै अवरुद्ध गरेका थिए।
दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा बसेको समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि समेत छन्। समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ।
राइड सेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायी हातपात र तोडफोडमा उत्रिएका थिए। सार्वजनिक यातायातका चालक र सहचालक तोडफोड र कुटपिटमा उत्रिएका हुन्।
उनीहरूले पोखराको पृथ्वीचोकमा ग २० प ३९७३ को स्कुटरमाथि तोडफोड गरेका थिए। आन्दोलनरत पक्षले पत्रकार र सर्वसाधारणमाथि पनि दुर्व्यवहार र हुलहुज्जत गरेका छन्।



